कार्तिक कृष्ण त्रयोदशीदेखि लाग्ने यमपञ्चक मंगलबार नै शुरु
काठमाडौं :नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रही त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक मंगलबार नै शुरु हुँदैछ।
तिहारको पहिलो दिन काग तिहार मनाइन्छ। यो दिन बिहान कागको पूजा गर्ने र खानेकुरा खानदिने परम्परा छ। त्रयोदशीकै साँझ यमदीपदान गर्ने परम्परा छ। यी दुवै कर्म बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ।
यमपञ्चकका पाँच दिनमध्ये कार्तिक कृष्ण त्रयोदशीमा काग, चतुर्दशीमा कुकुर र औँसीका दिन गाईको पूजा गर्ने चलन छ। औँसीकै साँझ दीपावली गरी लक्ष्मीपूजा गर्ने परम्परा छ। कर्तिक शुक्ल प्रतिपदामा गोरु र गोवर्धनको पूजा गर्ने विधान छ। द्वितीयाका दिन दिदीभाइले दाजुभाइको पूजा गर्ने परम्परा छ।
मृत्युदेव यमराज यी पाँच दिन बहिनी यमुनाका घर रही आतिथ्य ग्रहण गरेको लोकोक्ति छ। यसैगरी यमराजसँग सम्बन्धित भएकाले यो अवधिलाई यमपञ्चक भनिएको बताइन्छ।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भने।
त्रयोदशीकै दिन आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती पनि मनाइन्छ। धनवन्तरि जयन्ती बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ।













