सहकारी ठगीमा संलग्न प्रदेश सांसदका छोरा पक्राउ
काठमाडौं। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदेश सांसदका छोरा सुमन खनाललाई पक्राउ गरेको छ ।
पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ ९क०बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन्।
कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताउनुभयो। प्रदेश रजिस्ट्रार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताउनुभएको छ। पक्राउ गरिएका खनाल हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका छन्। उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयो ।
बचतकर्ता र शेयर सदस्यको झन्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपियाँ ठगी गरेको देखिएको छ। सहकारीमा रकम फिर्ता नपाएपछि पीडितले शिवसताक्षी नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए। सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो। भदौको तेस्रो साता खनालविरुद्ध उजुरी परेको थियो।
उक्त सहकारीको स्थापना कालदेखिकै अध्यक्ष रहनुभएका खनालले आर्थिक वर्ष २०७८र०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ। सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै बचतकर्ताको रकम दुई लाख ६ हजार ८६८ रुपियाँ निकालेको पाइएको थियो।
बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा सङ्कलकबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९र८० मा दुई लाख ३६ हजार ८४० रुपियाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचत खातामा जम्मा गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छ।
यस्तै आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपियाँ नगद मौज्दात भएको दाबी गरे पनि उक्त रकम अध्यक्षले व्यक्तिगत रूपमा चलाएको पाइएको थियो।
प्रतिवेदनमा आर्थिक वर्ष २०७८र७९ मा उन्नति साकोसको नाममा ५ लाखको कर्जा संस्थाले शेयर सदस्यलाई लगानी गरेको नभई अध्यक्ष खनालले नै मनखुसी चलाएको पाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०७८र७९ मा रमेश अधिकारीको नाममा रहेको एक लाख ९१ हजार ८४९ रुपियाँको कर्जा लगानी गरेको भए पनि उक्त व्यक्ति नै फेक रहेको अनुगमन समितिले जनाएको छ।
अध्यक्ष खनालबाट सहकारीले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को अन्त्यमा एक करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिएको ’ प्रतिवेदनमा उल्लेख छ।
सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८/७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९/८० मा १६ लाख ३१ हजार ३८७ रुपियाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ।












