रवि लामिछाने विरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गर्यो – Sagarmathapana:: Online News Portal

रवि लामिछाने विरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गर्यो

   २०८१ कार्तिक ८ गते  

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको छ ।

सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका बेला पुन अर्को मुद्धाको उजुरी परेको हो ।

प्रहरी हिरासत पोखरामा रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी)  राई, उपाध्यक्ष छविलाल  जोशी पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

पोखरा प्रहरी हिरासतमा रहेका छवि र रविलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार नै ७ दिनको म्याद दिएको छ । छविलाई यसअघि नै रुपन्देही ल्याएर १३ घण्टा बयान गराएर पोखरा पठाइएको छ । प्रहरी स्रोतका अनुसार रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी भइरहेको छ ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन भएको देखिएको छ ।

रकम अपचलनमा संलग्न रहेको देखिएपछि यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक जिबी राई, भूपेन्द्रबाबु राई, छविलाल बञ्जाडे जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे चापागाईं, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै