अर्थमन्त्रीले दिए राजस्व वृद्धिको योजना पेस गर्न निर्देशन – Sagarmathapana:: Online News Portal

अर्थमन्त्रीले दिए राजस्व वृद्धिको योजना पेस गर्न निर्देशन

   २०७८ भाद्र १४ गते  

 

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजस्व वृद्धिको योजना यथाशक्य चाँडो पेस गर्न निर्देशन दिनुभएको छ । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई आइतबार स्वागत गर्दै उनले सार्वजनिक संस्थान अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा यसअघि आफूले माग गरेका योजनाहरू यथाशक्य चाँडो पेस गर्न निर्देशन दिए ।

त्यस्तै उनले वित्त व्यवस्थापन, त्यसको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरूबाट आ–आफ्नो विशिष्टताअनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अर्थमन्त्री शर्माले मन्त्रालयअन्तर्गतका तीन जना सचिवको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरूमा सकारात्मक परिणाम दिनसके मात्र आफूहरूले काम गरेको पुष्टि हुने भएकाले त्यसैअनुसार लाग्नुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता रहेको बताए ।

संविधानको भावना र वर्तमान सरकारको परिकल्पनाअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको उनको भनाइ थियो ।
स्वागत कार्यक्रममा नवनियुक्त राजस्व सचिव कर्णले प्रशासनतन्त्रमा, ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै भए पनि सो अनुसारको कार्यसम्पादन कम देखिएको बताए । उनले सरकारी कार्यालयले समेत स्वामित्व महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।उहाँले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’भन्दा ‘होम ग्रोन ट्रेन्ड’का आधारमा काम गरिने बताए ।

नवनियुक्त महालेखा नियन्त्रक अर्यालले नीतिगत सुधार, व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए। उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकामा जोड दिँदै त्यसका लागि आफ्नातर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै