काठमाडौं।सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन बहुक्षेत्रीय कार्ययोजनाको कार्यान्वयनलाई तीव्रता दिने भएको छ। उपचारमा मात्र निर्भर नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली प्रवद्र्धनमा जोड दिँदै सार्वजनिक स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकता दिइएको हो।
यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था तथा नियन्त्रणका उपायबारे छलफल भएको थियो।
बैठकले स्वास्थ्य प्रवद्र्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि पहल गर्ने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
नसर्ने रोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, स्थानीय तहसँग समन्वय तथा विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ। त्यस्तै, विशेषज्ञ चिकित्सकलाई देशमै टिकाइराख्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा तथा अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख जोखिमका रूपमा औँल्याउँदै तिनको नियन्त्रण र नियमनका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमुखी दृष्टिकोणभन्दा रोकथाममुखी रणनीतिलाई प्राथमिकता दिने नीति लिएको छ। नियमित परीक्षण, स्वास्थ्य शिक्षा र जीवनशैलीमा सुधारमार्फत रोगको जोखिम घटाउने सरकारको लक्ष्य छ।
नेपालले सन् २०३० सम्म नसर्ने रोगका कारण हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ। उक्त लक्ष्य प्राप्तिका लागि सरकारी निकायबीच सहकार्य, प्रभावकारी नीति कार्यान्वयन र नागरिकस्तरमा स्वस्थ जीवनशैलीको अभ्यास आवश्यक देखिएको छ।







