कोशी नदी फुट्दा बिहारका कयौँ गाउँ अहिले जलमग्न
काठमाडौं, कोशी नदी भारतको बिहारमा पुगेपछि फुटेको छ । कोशी नदी दरभंगा जिल्लाको किरातपुर ब्लकस्थित भुभौग गाउँनजिकै सोमबार राति पश्चिमी बाँध फुटाएर बस्तीमा पसेको हो ।

गाउँलाई डुबानबाट बचाउन युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई मुख्यमन्त्री नीतिशकुमारले निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्याउन सरकारी अधिकारीलाई निर्देशन दिइएको विभागले जनाएको छ । बाँध फुटाएर कोशी बस्तीमा छिरेको क्षेत्रमा मंगलबार नै दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेट तयारी अवस्थामा राखिएको छ । बाढी नियन्त्रणबाहिर गएकाले अहिले प्रभावित क्षेत्र जलमग्न छन् । प्रभावितहरुको संख्या एकिन नभइसकेको बिहार राज्य सरकारले जनाएको छ ।
ग्रामीण गणेश मुखियाका अनुसार तटबन्ध फुटेका कारण मुसहरी र कनुन टोलाका बासिन्दा धेरै प्रभावित भएका छन् । यही बस्तीका तीन स्थानीयलाई कोशीको बहावले बगाएर लगेको छ ।












