काठमाडौं।हिमालय एयरलाइन्सले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्दै काठमाडौं–हाङझाउ सिधा उडान सेवा सुरु गरेको छ। नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) र चीनको हाङझाउ स्याओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गरेको हो।

![]()
सेवाको पहिलो उडान बुधबार, सेप्टेम्बर ३० मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन भएको थियो।उडान नम्बर एच९ २२५ काठमाडौंको स्थानीय समयअनुसार साँझ ५ः३७ बजे प्रस्थान गरी अक्टोबर १ मा चीनको स्थानीय समयअनुसार बिहान १ः०८ बजे हाङझाउ पुगेको थियो।
त्यसैगरी, हाङझाउबाट काठमाडौंका लागि एच९ २२६ उडान अक्टोबर १ मा बिहान ३ः१८ बजे प्रस्थान गरी सोही दिन बिहान ६ः२८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।उक्त उडानमार्फत १५४ जना चिनियाँ पर्यटक नेपाल आएका छन्।


हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–हाङझाउ–काठमाडौं क्षेत्रमा नियमित सिधा उडान सञ्चालन गर्ने यो पहिलो र एकमात्र व्यावसायिक वायुसेवा भएको दाबी गरिएको छ। नयाँ उडानसँगै नेपाल र चीनबीच पर्यटन, व्यापार तथा सांस्कृतिक आदानप्रदानका लागि नयाँ हवाई मार्ग खुलेको कम्पनीले जनाएको छ।
पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङझाउ चीनका प्रमुख सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमा पर्छ। पश्चिम ताल (West Lake), ग्रान्ड क्यानाल तथा लियाङझु सहरका पुरातात्त्विक अवशेषलगायतका विश्व सम्पदा क्षेत्रका कारण हाङझाउ अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ।


हिमालय एयरलाइन्सले चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रमा सिधा उडान विस्तार गर्ने दीर्घकालीन योजनाअन्तर्गत हाङझाउ सेवा सुरु गरेको जनाएको छ। कम्पनीले नेपालमा वार्षिक १० लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यसहित चीनका विभिन्न सहरमा हवाई सम्पर्क विस्तार गर्ने योजना अघि सारेको छ।
नयाँ सेवा नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुने समयमा सञ्चालनमा आएको हो। यसले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा पर्यटन, होटल, आतिथ्य र सम्बन्धित क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ रुटमा सातामा दुई उडान सञ्चालन गर्नेछ। काठमाडौं–हाङझाउ उडान प्रत्येक बुधबार र आइतबार तथा हाङझाउ–काठमाडौं उडान प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुने कम्पनीले जनाएको छ। यात्रुको माग र विमानको सिट उपयोग दरका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने विषयमा समीक्षा गरिने बताइएको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रमा उडान विस्तार गरी नेपालमा १० लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। उनका अनुसार काठमाडौं–हाङझाउ उडानले नेपाल र चीनका दुई ऐतिहासिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष हवाई सम्पर्कमार्फत जोड्नेछ।
कम्पनीले नयाँ रुटमार्फत दुवै देशका पर्यटक, व्यवसायी, व्यापारिक प्रतिनिधिमण्डल, विद्यार्थी तथा सांस्कृतिक आदानप्रदानमा सहभागी यात्रुलाई प्रत्यक्ष हवाई सेवाको सुविधा पुग्ने जनाएको छ।



