EN
मेनु
Flash News

थापाथली पुलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं।काठमाडौंको थापाथलीस्थित बागमती नदीको पुलमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका रौतहटको कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्माको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार शङ्खमूलबाट थापाथलीतर्फ आउँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो। त्यसपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२ ०६२ प ९६३१ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते तत्मालाई तत्काल अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट कटहरिया–२ का २५ वर्षीय दिपेन्द्र दास, स्कुटर चालक चितवनका २३ वर्षीय सुदिप श्रेष्ठ र स्कुटरमा पछाडि सवार सर्लाहीका ३४ वर्षीय मोहन शाह घाइते भएका छन्।

घाइते दिपेन्द्र दासको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ भने सुदिप श्रेष्ठ र मोहन शाहको सिनामङ्गलस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

प्रहरीले मोटरसाइकल तीव्र गतिमा रहेको वा प्राविधिक समस्याका कारण अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।