हङकङ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तमु समाज हङकङले ८ लाख रुपैयाँ सहयोग गरेको छ।
गत भदौ १० गते बिहान करिब ९ बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखाका नदी तटीय क्षेत्रसमेत प्रभावित भएका छन्।
बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सरकारले सहयोगको आह्वान गरेपछि स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संघसंस्था तथा समुदायले आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन्।
यसैक्रममा सन् २०१५ मा स्थापना भएको तमु समाज हङकङले समाजका विभिन्न पदाधिकारी तथा सदस्यहरूबाट संकलित रकम र संस्थाको आफ्नै कोषबाट गरी कुल ८ लाख रुपैयाँ सहयोग जुटाएको हो।
संकलित रकममध्ये ५ लाख रुपैयाँ नेपाल सरकारको हङकङस्थित कन्सुलेट जनरलको बैंक खातामा जम्मा गरिएको छ। उक्त रकम जम्मा गरिएको बैंक रसिदसहितको डमी चेक तमु समाज हङकङका कार्यवाहक अध्यक्ष मनप्रसाद गुरुङ, संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक कोमल गुरुङ, महिला विभाग अध्यक्ष सरस्वती (राधा) गुरुङ, महिला विभागकी संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक पुष्प गुरुङ, प्रमुख सल्लाहकार दुर्गा गुरुङ, सल्लाहकारहरू केशर गुरुङ, बेलप्रसाद गुरुङ र विष्णु गुरुङ, सचिव काजी गुरुङ तथा सदस्यहरू सिर्जना गुरुङ र द्रोपती गुरुङको उपस्थितिमा नेपाल सरकारको हङकङस्थित नेपाली कन्सुलेट जनरलका कार्यवाहक कन्सुलर जनरल सतीश गुरुङलाई हस्तान्तरण गरिएको छ।
बाँकी ३ लाख रुपैयाँ बराबरको राहत सामग्री भने तमु समाज हङकङका वर्तमान अध्यक्ष नरेन्द्रराज गुरुङले नेपाल आएर बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा वितरण गर्ने जनाइएको छ। उक्त सहयोगअन्तर्गत आवश्यकता अनुसार खाद्यान्न, लत्ताकपडा तथा अन्य राहत सामग्री वितरण गरिनेछ।
तमु समाज हङकङले स्थापना कालदेखि नै नेपाली समुदायबीच एकता, आपसी सद्भाव तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ। भाषा, संस्कार र संस्कृतिको संरक्षणसँगै नेपालमा आइपर्ने प्राकृतिक विपत्तिका समयमा समेत समाजले सहयोग गर्दै आएको छ।
यसअघि कोरोना महामारीका क्रममा पनि समाजले प्रभावित क्षेत्रमा राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएको थियो। त्यस्तै, गत वर्ष हङकङको ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा भएको ठूलो आगलागीपछि हङकङ सरकारलाई २० हजार हङकङ डलर सहयोग गरेको समाजले जनाएको छ।
तमु समाज हङकङसँग हाल करिब ६२ लाख हङकङ डलर (६.२ मिलियन HKD) मूल्य बराबरको आफ्नै भवन रहेको पनि जनाइएको छ।
भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तमु समाज हङकङ परिवारले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।



