काठमाडौँ।एनसेलले एप्पलका नयाँ आईफोन १८ सिरिज खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष बन्डल योजना सार्वजनिक गरेको छ। एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गरी उक्त योजना ल्याएको हो।

योजनाअन्तर्गत आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन डुओ खरिद गर्ने एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकले विभिन्न अतिरिक्त सुविधा प्राप्त गर्नेछन्।
अफरमा असीमित डेटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस तथा प्रिमियम डिजिटल सामग्री उपलब्ध गराउने लायन्सगेटको सब्सक्रिप्सन समावेश गरिएको छ।


एनसेलका अनुसार आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० जना ग्राहकले तीन महिनासम्म यी सुविधा निःशुल्क प्राप्त गर्नेछन्। यस्तै, आईफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकले छ महिनासम्म अतिरिक्त शुल्कबिना सुविधा प्रयोग गर्न पाउनेछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले नयाँ आईफोन खरिदकर्तालाई मोबाइल सेवा र डिजिटल मनोरञ्जनलाई एउटै बन्डलमा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए।
उनका अनुसार एनसेलले ग्राहकको डिजिटल जीवनशैलीलाई सहज बनाउने उद्देश्यले यस्ता योजनालाई प्राथमिकता दिँदै आएको छ। नयाँ बन्डल योजनाले आईफोन प्रयोगकर्तालाई कनेक्टिभिटीसँगै मनोरञ्जनात्मक डिजिटल सामग्रीमा समेत पहुँच दिने कम्पनीको भनाइ छ।

जेनेरेशन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा ल्याइएको यस योजनामार्फत प्रिमियम डिभाइस खरिद गर्ने ग्राहकलाई थप मोबाइल तथा मनोरञ्जन सुविधा उपलब्ध गराउने एनसेलले जनाएको छ।



