EN
मेनु
Flash News

फ्लाई दुबईको विमान दुर्घटनाबाट जोगाउने भारतीय पाइलटको साहस, ककपिटमै छुरा प्रहार

दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउने पाइलट भारतीय नागरिक क्याप्टेन स्मित मच्छर रहेको खुलेको छ। उडानका क्रममा विमानको नियन्त्रण लिन खोजिएको आरोप लागेपछि ककपिटमै उनीमाथि छुरा प्रहार भएको बताइएको छ।

इजरायली सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार, फ्लाई दुबईको FZ1073 उडानका क्रममा क्याप्टेन मच्छरका ओमानी सहपाइलटले विमान नियन्त्रणमा लिएर दुर्घटना गराउने प्रयास गरेको आरोप छ। सो क्रममा क्याप्टेन मच्छरमाथि पटक–पटक छुरा प्रहार भएको र उनी गम्भीर रूपमा घाइते भएको अधिकारी तथा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

स्थिति बिग्रिएपछि क्याबिन क्रु ककपिटमा प्रवेश गरी स्थिति नियन्त्रणमा लिन सहयोग गरेका थिए। त्यसपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो।

करिब ३४ हजार फिट उचाइमा उडिरहेको विमान केही समयमै करिब २० हजार फिटसम्म तल झरेको फ्लाइट ट्र्याकिङ विवरणमा देखिएको बताइएको छ। त्यसपछि विमानले साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो।

विमानमा करिब १८० जना इजरायली यात्रु सवार रहेको र घटनामा सबै यात्रु सुरक्षित रहेको जनाइएको छ।

१३ वर्षभन्दा बढी उडान अनुभव

क्याप्टेन स्मित मच्छरसँग बोइङ ७३७ विमानमा १३ वर्षभन्दा बढी उडान अनुभव रहेको बताइएको छ। उनी सन् २०२२ जुनदेखि फ्लाई दुबईमा क्याप्टेनका रूपमा कार्यरत छन्।

यसअघि उनले भारतीय वायुसेवा कम्पनी स्पाइसजेटमा करिब ११ वर्ष काम गरेका थिए। स्पाइसजेटमा रहँदा उनले ९ हजार ५०० घण्टाभन्दा बढी उडान गरेको र त्यसमध्ये ६ हजार ४०० घण्टाभन्दा बढी समय विमानको कमान्डमा बिताएको बताइएको छ।

उनले लाइन ट्रेनिङ क्याप्टेनका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।

इजरायलले लडाकु विमान परिचालन गर्‍यो

घटनापछि विमान सम्भावित अपहरणमा परेको आशंकामा इजरायलले आफ्ना लडाकु विमानसमेत परिचालन गरेको बताइएको छ। तर पछि इजरायली प्रधानमन्त्रीको कार्यालयले घटनालाई अपहरणका रूपमा नहेरेको जनाएको छ।

विमानभित्र वास्तवमा के भएको थियो, सहपाइलटको उद्देश्य के थियो र घटनाको कारण के हो भन्ने विषयमा सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका छन्।

घटनाबारे थप आधिकारिक विवरण अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।