चितवन-लमजुङको मर्स्याङ्दी–३ की २३ वर्षीया सोविता मिजारको उपचारका क्रममा मृत्यु भएको तीन दिन बितिसक्दा पनि परिवारले शव घर लैजान सकेको छैन।उपचार खर्चबापतको रकम तिर्न नसक्दा उनको पार्थिव शरीर चितवन मेडिकल कलेजमै रोकिएको परिवारले जनाएको छ।
परिवारका अनुसार विष सेवन गरेपछि उपचारका लागि अस्पताल भर्ना भएकी सोविताको सोमबार मृत्यु भएको हो। अस्पताल र फार्मेसीको गरी ५ लाख ७३ हजार ४८० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ।
आर्थिक अवस्था कमजोर रहेको परिवारले ऋण खोजेर करिब ३ लाख रुपैयाँ अस्पतालमा बुझाइसकेको भए पनि बाँकी रकम जुटाउन नसक्दा शव घर लैजान समस्या भएको हो।परिवारले सहयोगका लागि अपिल गरेको छ।
अस्पतालमा भर्ना गर्दा सुरुमा उपचारका लागि करिब डेढदेखि दुई लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिइएको परिवारको भनाइ छ। तर उपचारका क्रममा खर्च बढ्दै गएको र असोज ४ गते सोविताको शल्यक्रियासमेत गरिएको परिवारले जनाएको छ।
परिवारका अनुसार सोविताले विष सेवन गर्नुको कारण व्यक्तिगत सम्बन्धसँग जोडिएको विषय हो। लमजुङकै एक युवकसँगको सम्बन्धमा समस्या आएपछि उनले विष सेवन गरेको परिवारको दाबी छ। उपचारका क्रममा ती युवक अस्पताल आउने–जाने गरेको र उपचार खर्चमा सहयोग गर्ने बताउँदै आएको परिवारले जनाएको छ।
बाँकी उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै रोकिएपछि परिवारले आर्थिक सहयोग जुटाइदिन सबैसँग आग्रह गरेको छ।



