काठमाडौं।सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कर्जा विस्तारका लागि ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ ।
स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको उक्त सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने एमएसएमई कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ ।
बैंकका अनुसार यो साझेदारीले देशभरका लघु, साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्ने बैंकको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ । विशेषगरी उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा समावेशी आर्थिक वृद्धिमा यसबाट योगदान पुग्ने बैंकको विश्वास छ ।
सिद्धार्थ बैंकले जारी गरेको विज्ञप्तिमा जोखिम साझेदारी सुविधाका लागि आईएफसीसँग भएको ४ करोड अमेरिकी डलरको साझेदारीलाई आफ्नो एमएसएमई कर्जा पोर्टफोलियो विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको उल्लेख छ ।
सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त साझेदारीले उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै रोजगारी सिर्जना र नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने बताए ।
बैंकका अनुसार जोखिम बाँडफाँटको व्यवस्थाले एमएसएमई क्षेत्रमा थप कर्जा प्रवाह गर्न सहज हुने र साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



