EN
मेनु
Flash News

सुत्केरीको घरमै पुगेर आमा–नवजातको स्वास्थ्य जाँच गर्दै काठमाडौं महानगर

काठमाडौं।काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्था घरमै पुगेर जाँच गर्ने कार्यक्रम सुरु गर्ने भएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट ‘उत्तर प्रसुति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।

कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नेछन् । सुत्केरीपछि देखिन सक्ने स्वास्थ्य जटिलता समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउने महानगरको उद्देश्य छ ।

सुत्केरी अवस्थामा आमामा अत्यधिक रक्तस्राव, संक्रमण, उच्च रक्तचापलगायत समस्या देखिन सक्ने तथा नवजात शिशुमा पनि विभिन्न स्वास्थ्य जटिलता उत्पन्न हुन सक्ने भएकाले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको महानगरले जनाएको छ । स्वास्थ्यकर्मीले घरभेटका क्रममा समस्या पहिचान गरी आवश्यक व्यवस्थापन गर्नेछन् भने थप उपचार आवश्यक देखिएमा सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिनेछ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसुतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण पाउने दर ७० प्रतिशत रहेको छ । स्वास्थ्य संस्थामा प्रसुति भएका महिलामा यस्तो सेवा पाउने दर ८२ प्रतिशत भए पनि स्वास्थ्य संस्थाबाहिर प्रसुति हुने महिलामा यो दर २३ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ ।

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रभित्र १.१८ प्रतिशत महिलाले दुई पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए । आर्थिक वर्ष २०८१/८२ मा यो दर बढेर ११.१८ प्रतिशत पुगेको थियो । तर, त्यसपछिको आर्थिक वर्षमा पुनः घटेर ४.७१ प्रतिशतमा पुगेको महानगरले जनाएको छ ।

घट्दो दरलाई सुधार गर्दै सुत्केरी आमा तथा नवजात शिशुमा देखिन सक्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कार्यक्रमकी फोकल पर्सन तथा वरिष्ठ अ.न.मि. निरीक्षक चन्द्रा भट्टले बताउनुभयो ।

कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक अभिमुखीकरणसमेत दिइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई समूहमा विभाजन गरी घरभेट कार्यक्रमको विधि, स्वास्थ्य परीक्षणका क्रममा गर्नुपर्ने काम तथा आवश्यक प्रक्रियाबारे जानकारी दिइएको महानगरले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंकी वरिष्ठ जनस्वास्थ्य नर्सिङ निरीक्षक अम्बिका पाण्डेका अनुसार सहरी क्षेत्रमा स्वास्थ्य संस्था नजिकै भए पनि विभिन्न कारणले सुत्केरीपछिको स्वास्थ्य परीक्षण छुट्ने गरेको छ ।

“परिवारमा सहयोग गर्ने सदस्यको अभाव, काममा फर्किनुपर्ने अवस्था, घरायसी जिम्मेवारी तथा अस्पतालबाट डिस्चार्ज भएपछि समस्या छैन भन्ने बुझाइका कारण पनि उत्तर प्रसुति जाँच छुट्न सक्छ,” उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी आफैँ घरमा पुग्ने प्रणालीले सेवा नलिएका परिवार पहिचान गर्न सहयोग पुग्छ ।”

महानगरपालिकाले घरभेट कार्यक्रमलाई स्वास्थ्य परीक्षणमा मात्र सीमित नगरी सुत्केरी आमा र नवजात शिशुको स्याहार, स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक जानकारीसमेत दिने तयारी गरेको छ । घरभेटका क्रममा प्रयोग हुने चेकलिस्टमा आमा र नवजात शिशुको स्वास्थ्य जाँच तथा सुत्केरीपछिको आवश्यक परामर्श समेटिनेछ ।

महानगरका अनुसार कार्यक्रम सूक्ष्म योजना तथा स्वास्थ्य संस्थाबाट प्राप्त तथ्यांकका आधारमा सञ्चालन हुनेछ । स्वास्थ्य संस्था र बस्तीबीचको पहुँच, उपलब्ध जनशक्ति, समय तथा मातृ–नवजात स्वास्थ्य सेवाको अवस्थालाई कार्यक्रम सञ्चालनका प्रमुख आधार बनाइनेछ ।

नेपालले सन् २०३० सम्ममा मातृ मृत्यु दरलाई प्रति एक लाख जीवित जन्ममा ७० र नवजात शिशु मृत्यु दरलाई प्रति हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना महिलाको गर्भावस्था तथा प्रसुतिसँग सम्बन्धित कारणले मृत्यु हुने गरेको छ भने सुत्केरी अवस्थामा हुने मृत्यु पनि मातृ स्वास्थ्यका लागि ठूलो चुनौतीका रूपमा रहेको छ ।