मन्थली–पकरवास सित्खा हुँदै सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु
काठमाडौं– सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ ।
मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।
खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली–पकरवास–भीरपानी सडकखण्ड सुचारु गर्न जिल्लास्थित सरोकारवालाले पहल थालेका थिए । मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन सुचारु भएपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खुर्कोटको पुल बगाएसँगै जिल्लामा यातायात सुचारु गराउन वैकल्पिक सडक मन्थली–पकरवास–भिरापनी–सित्खा सडक तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।












