भोटखोलाको किमाथांकामा सीमा प्रशासन र भन्सार कार्यालय पुनःस्थापनाको माग – Sagarmathapana:: Online News Portal

भोटखोलाको किमाथांकामा सीमा प्रशासन र भन्सार कार्यालय पुनःस्थापनाको माग

   २०८३ भाद्र २५ गते  

निमा पोङ्स्युवा
संखुवासभा।भोटखोला गाउँपालिकाले संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेका सीमा प्रशासन कार्यालय र भन्सार कार्यालयलाई भोटखोला गाउँपालिका–१ किमाथांकामा पुनःस्थापना गरी सेवा प्रवाह गर्न माग गरेको छ।

भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर लामाले प्रमुख जिल्ला अधिकारीसमक्ष पत्र पठाउँदै किमाथांकामै सीमा प्रशासन र भन्सार कार्यालय स्थापना गरी सेवा दिन आग्रह गरेका हुन्।

गाउँपालिकाका अनुसार किमाथांका नाकामा स्थानीयस्तरमा हुने व्यापार–व्यवसायका लागि सीमा प्रवेश अनुमतिपत्र बनाउन तथा नवीकरण गर्न सेवाग्राहीले लामो यात्रा गरी खाँदबारी पुग्नुपर्ने बाध्यता छ। त्यस्तै, भन्सारसम्बन्धी कामका लागि समेत खाँदबारी धाउनुपर्ने भएकाले स्थानीय नागरिकले सास्ती भोग्दै आएका छन्।

नेपाल सरकारले जनतालाई सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारी दरबन्दी घटाए पनि सम्बन्धित स्थानमा नपुगी विभिन्न बहानामा सदरमुकाममै कार्यालय खडा गरी बसेको गाउँपालिकाको आरोप छ।

पत्रमा तत्काल सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय भोटखोला गाउँपालिका–१ किमाथांकामा पुनःस्थापना गरी सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरिएको छ।
अध्यक्ष लामाले उक्त मागको जानकारी प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, जिल्ला समन्वय समिति संखुवासभा, गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखा र भन्सार विभागलाई समेत गराएका छन्।

भन्सार र सिमा सम्बन्धित स्थान किमाथांकामा नबसि सुविधाजनक सदरमुकाममा बसेर स्थानीयले दुख भोगिरहेको स्थानीय तथा स्वयं अध्यक्षले गुनासो गर्दै आएको छ । स्थानीयले ल्याएको सरसामान सदरमुकाम आईपुग्दासम्म बेच बाटोमा प्रहरी अबैध भन्दै पक्राउ गर्दै आएको विषयमा अध्यक्ष सहित स्थानीयले गुनासो आक्रोश पोख्दै आएका छन । भन्सार किमाथांकामा नबस्दा धेरै स्थानीय व्यापारी प्रहरीको कार्वाहीमा परेको छ । तर यस विषयमा भन्सार रमिते बन्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै