भोटेकोशी बाढीपीडितको पुनःस्थापना र सडक सञ्चालन तीव्र बनाउन राष्ट्रपति पौडेलको आग्रह
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापनसँगै सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

![]()
राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापन तथा सडक यातायात सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको हो।
![]()
भौगोलिक विकटताका कारण सडक तथा यातायात पूर्वाधार निर्माणमा सरकारी क्षमताले मात्र नपुग्ने अवस्था भए ठूला बेलिब्रिजसहित आवश्यक पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदाय र मित्रराष्ट्रको सहयोग लिनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो।
![]()
उहाँले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था तथा भौतिक संरचनामा पुगेको क्षति प्रत्यक्ष रूपमा देखेको उल्लेख गर्दै पुनर्निर्माण र पुनःस्थापनाका कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले बाढीका कारण प्रभावित नागरिकको जनजीवन सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो। साथै, जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति दिलाउन प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो।

मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसमेत सहभागी हुनुहुन्थ्यो।
छलफलका क्रममा मन्त्रीद्वयले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी राष्ट्रपतिलाई गराउनुभयो। बाढीपीडितको अस्थायी बसोबासका लागि ‘क्याप्सुल होम’ निर्माणको कामसमेत तीव्र गतिमा भइरहेको उहाँहरूले बताउनुभयो।
सरकारले वैकल्पिक सडक निर्माणलाई पनि तीव्रता दिएको तथा लामो स्पानका बेलिब्रिज निर्माणका लागि मित्रराष्ट्रहरूसँग सहयोग मागिएको जानकारी मन्त्रीहरूले गराउनुभएको थियो। आवश्यक सामग्री आउने क्रममा रहेको र बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पूर्वाधार निर्माणका लागि सरकारले थप आवश्यक योजना अघि बढाइरहेको उहाँहरूले बताउनुभयो।













