उद्योगीलाई कडा कारबाही नगरेसम्म ग्यास आपूर्ति सहज हुँदैन:मन्त्री यादव – Sagarmathapana:: Online News Portal

उद्योगीलाई कडा कारबाही नगरेसम्म ग्यास आपूर्ति सहज हुँदैन:मन्त्री यादव

   २०८३ भाद्र २५ गते  

काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगीमाथि कडा नियमन र कारबाही नगरेसम्म नेपालमा एलपी ग्यासको आपूर्ति सहज हुन नसक्ने बताएकी छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले पटक–पटक आग्रह गर्दा पनि ग्यास उद्योगीहरूले आपूर्ति सहज बनाउन चासो नदिएको गुनासो गरिन्।

नेपालमा आवश्यकताभन्दा बढी ग्यास उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै उनले भनिन्,“हाम्रो जस्तो देशमा दुईवटाभन्दा बढी ग्यास उद्योग चाहिँदैन।५८ वटा ग्यास उद्योग किन चाहियो ? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ।

मन्त्री यादवले विगतमा ग्यास उद्योग सञ्चालनका लागि अनुमति दिने प्रक्रियाको समेत समीक्षा गर्नुपर्ने बताइन्।आपूर्ति सहज बनाउन उद्योगीहरूसँग पटक–पटक आग्रह गरे पनि समस्या समाधान नभएको भन्दै उनले कडा कदम चाल्नुपर्नेमा जोड दिइन्।

“हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुस् भन्दै आग्रह गर्दा पनि समस्या समाधान भएन,” उनले भनिन्, “उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।”

बैठकमा मन्त्री यादवले सरकारी प्रशासन र कर्मचारीतन्त्रप्रति समेत असन्तुष्टि व्यक्त गरिन्। देश कर्मचारीतन्त्रबाट प्रभावित भइरहेको दाबी गर्दै उनले बलियो सरकार हुँदासमेत कर्मचारीबाट असहयोग हुने गरेको गुनासो गरिन्।

आफूले सुधारका काम अघि बढाउन खोज्दा कर्मचारीबाट अवरोध र असहयोग भएको उल्लेख गर्दै उनले भनिन्, “कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ। यहाँभन्दा बढी गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै