युवा कलाकारको प्रतिभा निखार्न बिर्तामोडमा ‘Young Artists’ Acting Bootcamp’ – Sagarmathapana:: Online News Portal

युवा कलाकारको प्रतिभा निखार्न बिर्तामोडमा ‘Young Artists’ Acting Bootcamp’

   २०८३ भाद्र २४ गते  

बिर्तामोड,झापा।छुनुमुनु थिएटर काठमाडौंको सहकार्य तथा CES Theatre Club को आयोजनामा प्रथम जिल्ला स्तरीय ‘Young Artists’ Acting Bootcamp 2026’ बिर्तामोडमा सञ्चालन हुने भएको छ।

बिर्तामोडस्थित Children Environment School (CES) को Grace Auditorium मा भाद्र २७, २८ र २९ गते तीन दिनसम्म सञ्चालन हुने बुटक्याम्पमा जिल्लाका विभिन्न विद्यालयमा Theatrical Art अध्ययन गरिरहेका विद्यार्थीहरूको सहभागिता रहनेछ।

बालबालिकाको आवाज, शरीर, अभिव्यक्ति, भाव, हाउभाउ तथा मञ्चीय उपस्थितिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउँदै उनीहरूभित्र रहेको सिर्जनशीलता, कल्पनाशक्ति र आत्मविश्वासलाई उजागर तथा विकास गर्ने उद्देश्यले बुटक्याम्प आयोजना गर्न लागिएको हो। साथै, उत्कृष्ट प्रतिभाहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चको यात्राका लागि तयार गर्ने लक्ष्य आयोजकले लिएको छ।

बुटक्याम्पको मुख्य प्रशिक्षण छुनुमुनु थिएटरका निर्देशक तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षक राजन भुजेलले प्रदान गर्नेछन्। तीन दिनको कार्यक्रममा अभिनयका विभिन्न व्यावहारिक तथा सिर्जनात्मक अभ्यासमार्फत सहभागी विद्यार्थीहरूको अभिनय क्षमता र मञ्चीय प्रस्तुति निखारिने आयोजकले जनाएको छ।

बुटक्याम्पको पहिलो दिन ‘विद्यालयमा अभिनय शिक्षा (Theatre Education in School)’ विषयमा विशेष Panel Discussion समेत आयोजना गरिनेछ। उक्त छलफलमा प्रशिक्षक राजन भुजेलसँगै झापाका वरिष्ठ नाट्य कलाकार टंक विकल्प, परिवर्तन थिएटर मेचीनगरकी प्रशिक्षक तथा निर्देशक कविता नेपाल र कदम थिएटर दमकका वरिष्ठ कलाकार सुभाषचन्द्र खरेल प्यानलिस्टका रूपमा सहभागी हुनेछन्।


प्यानल डिस्कसनको सहजकर्ता कवि, सञ्चारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक लिला अनमोल रहनेछिन्। छलफलमा विद्यालय तहमा रंगमञ्च तथा अभिनय शिक्षाको आवश्यकता, सम्भावना, चुनौती र बालबालिकाको व्यक्तित्व विकासमा यसको भूमिकालगायतका विषयमा विचार–विमर्श गरिनेछ।तीन दिने बुटक्याम्पको संयोजन थिएटर प्रशिक्षक तथा लेखक/निर्देशक दिनेशराज शर्माले गर्नेछन।

आयोजकका अनुसार बुटक्याम्प केवल अभिनय सिकाउने कार्यक्रम मात्र नभई जिल्लाका युवा प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र कलात्मक क्षमतालाई पहिचान तथा प्रोत्साहन गर्ने अभियानका रूपमा अघि बढाइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै