नेपाली तीन शेर्पा दाजुभाइ नवौँ अग्लो हिमाल एकसाथ पुगे: पर्वतारोहणमा नयाँ इतिहास – Sagarmathapana:: Online News Portal

नेपाली तीन शेर्पा दाजुभाइ नवौँ अग्लो हिमाल एकसाथ पुगे: पर्वतारोहणमा नयाँ इतिहास

   २०८३ भाद्र २४ गते  

काठमाडौं ।नेपाली तीन शेर्पा दाजुभाइले पाकिस्तानमा रहेको विश्वको नवौँ अग्लो हिमाल नांगा पर्वत (८,१२६ मिटर) को शिखरमा एकसाथ पुगेर पर्वतारोहणमा नयाँ इतिहास बनाएका छन्।

मिङ तेन्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र पासाङ दुक्पा शेर्पाले सन् २०२६ जुन ३० का दिन पाकिस्तान समयअनुसार बिहान करिब १० बजे नांगा पर्वतको सफल आरोहण गरेका हुन्। उनीहरू नांगा पर्वतको चुचुरोसम्म जाने बाटोमा डोरी (रोप) फिक्सिङ गर्ने टोलीमा सहभागी थिए।

मिङ तेन्बा शेर्पाको नेतृत्वमा पाँच सदस्यीय रोप फिक्सिङ टोलीले शिखरसम्मको मार्ग सुरक्षित बनाएपछि तीनै दाजुभाइ एकसाथ शिखरमा पुगेका हुन्।

‘हामी तीन दाजुभाइले नांगा पर्वतको शिखरसम्मको बाटो सफलतापूर्वक फिक्स गरेपछि एकसाथ शिखर आरोहण गर्‍यौँ,’ वरिष्ठ पर्वतारोहण गाइडसमेत रहेका मिङ तेन्बा शेर्पाले बताए।

सङ्खुवासभाको मकालु क्षेत्रका यी तीनै दाजुभाइ व्यावसायिक पर्वतारोहण गाइड हुन् र Seven Summit Treks Pvt. Ltd. मा आबद्ध छन्।

मिङ तेन्बा शेर्पाले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेका छन्। उनले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमालमा ३५ पटक आरोहण गरिसकेको जनाइएको छ। सन् २०२६ मे १७ मा उनले एकैपटक सगरमाथा–ल्होत्से–नुप्त्सेको ‘ट्रिपल क्राउन’ समेत पूरा गरेका थिए। उनले तीनवटा आठ हजार मिटर अग्ला हिमाल अतिरिक्त अक्सिजनबिनै आरोहण गरेका छन्।

मिङ तेन्बाका जेठा दाजु पासाङ दुक्पा शेर्पाले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमालमा २६ पटक आरोहण गरेका छन्। उनले विश्वका १४ मध्ये नौवटा आठ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक चढिसकेका छन्। अब सबै १४ वटा पूरा गर्न उनी थप पाँचवटा हिमाल आरोहण गर्नुपर्ने अवस्थामा छन्।

पासाङ दुक्पाले सगरमाथा नौ पटक र मनास्लु सात पटक आरोहण गरिसकेका छन्। उनी पनि वरिष्ठ पर्वतारोहण गाइडका रूपमा कार्यरत छन्।

सबैभन्दा कान्छा भाइ पासाङ नुर्बु शेर्पाले यसअघि मनास्लु, आमादब्लम र नांगा पर्वतको सफल आरोहण गरिसकेका छन्। उनी पनि व्यावसायिक पर्वतारोहण गाइडका रूपमा कार्यरत छन्।

तीनै दाजुभाइले एउटै अभियानमा रोप फिक्सिङ गर्दै नांगा पर्वतको शिखरमा एकसाथ पाइला राख्नु नेपाली पर्वतारोहणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

फोटो : The Everest News

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै