जेनजी आन्दोलनको एक वर्ष पूरा,आज‘जेनजी सहिद दिवस’मनाइँदै
काठमाडौं।जेनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरण तथा सम्मानमा सरकारले आज भदौ २३ गते सार्वजनिक बिदा दिएको छ।

एक वर्षअघि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन पछि भ्रष्टाचार, बेरोजगारी, असमानता, कमजोर सार्वजनिक सेवा तथा राजनीतिक जवाफदेहितालगायतका विषयमा व्यापक असन्तोषका रूपमा विस्तार भएको थियो।


आन्दोलनले देशको राजनीतिक र सामाजिक क्षेत्रमा समेत ठूलो प्रभाव पारेको छ। एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा महत्वपूर्ण परिवर्तन बेहोरेको छ भने आन्दोलनका क्रममा उठाइएका सुशासन, पारदर्शिता र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको प्रमुख बहस बनेका छन्।
सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा आज ‘जेनजी सहिद दिवस’ मनाउँदैछ। दिवसका अवसरमा सहिद युवाप्रति सम्मान व्यक्त गर्दै सुशासन, जवाफदेहिता र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइएको छ।
आन्दोलनका क्रममा उठेका माग र अपेक्षालाई सम्बोधन गर्दै राज्यका संस्थालाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउनु अहिले सरकारसामु प्रमुख चुनौतीका रूपमा देखिएको छ।












