न्यून गुणस्तरको एन्टिबायोटिक ‘आईपीओडी–२०० डीटी’ बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं।औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको एन्टिबायोटिक औषधि ‘आईपीओडी–२०० डीटी’ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको भेटिएपछि नोभा जेनेका प्रालि, धादिङद्वारा उत्पादित IPOD-200 DT (Cefpodoxime Proxetil Dispersible Tablets USP) को ब्याच नम्बर IPD2-133 फिर्ता गर्न निर्देशन दिएको हो।


राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त औषधिको विघटन (Dissolution) परीक्षण तोकिएको विश्लेषणात्मक प्रोफाइलअनुसार नपाइएको विभागले जनाएको छ। परीक्षणमा औषधि न्यून गुणस्तरको पुष्टि भएपछि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सम्बन्धित ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।
विभागले उत्पादक कम्पनी तथा सम्बन्धित प्रतिनिधिलाई बजारमा रहेका उक्त ब्याचका औषधि तत्काल फिर्ता गरी त्यसको विवरण विभागमा पेस गर्न भनेको छ।
![]()
त्यस्तै, चिकित्सक, स्वास्थ्य संस्था तथा औषधि व्यवसायीलाई उक्त ब्याचको औषधि बिरामीलाई सिफारिस नगर्न, बिक्रीवितरण तथा प्रयोग नगर्न/नगराउन विभागले सचेत गराएको छ।
विभागले बजारमा रहेका औषधिको गुणस्तर तथा सुरक्षाबारे नियमित अनुगमन भइरहेको जनाउँदै तोकिएको मापदण्ड पूरा नगरेका औषधिमाथि आवश्यक कारबाही गरिने जनाएको छ।













