बाढीपीडितको उद्धारका लागि GSS विद्यार्थीले दिए १ लाख ३० हजार ९९५ रुपैयाँ
काठमाडौं।बाढी–पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ग्लोबल स्कुल अफ साइन्स (GSS) का विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग गरेका छन्।
भोटेकोशी तथा त्रिशूली आसपासका क्षेत्रमा बाढी–पहिरोका कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थीहरूले आफ्नै तर्फबाट रकम संकलन गरी उद्धार कोषमा जम्मा गरेका हुन्।
विद्यार्थीहरूको यो पहलले विपत्तिको समयमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ। ‘सानो योगदान, ठूलो जिम्मेवारी’ भन्ने भावनासहित गरिएको सहयोग आर्थिक सहयोगमा मात्र सीमित नभई विपत्तिमा परेका परिवारप्रतिको साथ र सहानुभूतिको प्रतीकसमेत भएको बताइएको छ।
यसअघि ग्लोबल कलेज ग्रुपले बाढी–पहिरो प्रभावितका लागि २१ लाख रुपैयाँ सहयोग गरिसकेको थियो। त्यसपछि GSS का विद्यार्थीहरूले समेत आफ्नै पहलमा रकम जुटाएर राहत तथा उद्धार अभियानमा सहभागिता जनाएका हुन्।
ग्लोबल स्कुल अफ साइन्सले विद्यार्थीहरूलाई शिक्षासँगै समाज र समुदायप्रतिको जिम्मेवारीबोध गराउने उद्देश्यले मानवीय तथा सामाजिक अभियानमा सहभागी गराउँदै आएको जनाएको छ।
विपत्तिको कठिन समयमा विद्यार्थीहरूले एकताबद्ध भएर गरेको यो प्रयासले सहयोगको मात्रा ठूलो वा सानोभन्दा पनि संकटमा परेकालाई साथ दिने भावना महत्वपूर्ण हुने सन्देश दिएको छ।












