विपद् पीडितका लागि नेवा: पुच: युएईद्वारा राहत सहयोग हस्तान्तरण – Sagarmathapana:: Online News Portal

विपद् पीडितका लागि नेवा: पुच: युएईद्वारा राहत सहयोग हस्तान्तरण

   २०८३ भाद्र २२ गते  

युएई।भोटेकोसी, त्रिशूलीलगायतका नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि नेवा: पुच: युएईले राहत सहयोग हस्तान्तरण गरेको छ।

विपद् पीडित नेपालीलाई सहयोग गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्स (युएई)मा सञ्चालन गरिएको राहत संकलन अभियानअन्तर्गत पहिलो चरणमा संकलित १ हजार २२५ दिर्हाम (नेपाली रुपैयाँ करिब ५० हजार) नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईमार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले हस्तान्तरण गरिएको हो।

बरदुबईस्थित ग्राण्ड एम्बेसडर होटलमा आयोजित कार्यक्रममा नेवा: पुच: युएईका अध्यक्ष वीरेन्द्र कुमार नकर्मी, महासचिव कुमार बलामी तथा वरिष्ठ इन्जिनियर किरण बज्राचार्यले उक्त रकम नेफिन युएईका अध्यक्ष भागरथी कुमार भगत, वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष ईश्वर श्रेष्ठ र नेफिन सदस्य तथा नेवा: पुच: युएईका उपाध्यक्ष दीपेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।


राहत रकम हस्तान्तरण कार्यक्रममा वाईफिन युएईका अध्यक्ष तथा नेवा: पुच: युएईका सदस्य गोपाल श्रेष्ठको समेत रोहबर रहेको थियो।

नेवा: पुच: युएईका अनुसार राहत संकलन अभियान अझै जारी छ। दोस्रो चरणमा संकलित सहयोग नेवा: देय् दबु केन्द्रीय समितिमार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने योजना रहेको छ। यस्तै, अन्य संघसंस्थासँग समन्वय गरी तेस्रो चरणमा समेत राहत संकलन गर्ने तयारी गरिएको जनाइएको छ।

नेवा: पुच: युएईले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण नेपाली तथा सहयोगी संघसंस्थाप्रति धन्यवाद व्यक्त गर्दै बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै