गृहमन्त्री गुरुङको पहलमा चुमनुब्री–४ का बाढीपीडितलाई राहत पठाइँदै
गोरखा।चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो भौतिक क्षति भएपछि प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ।
क्षतिको प्रारम्भिक विवरण लिएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने व्यवस्था मिलाउनुभएको हो।


नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोले घर तथा होटलमा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुई र छिरिङ वाङ्दीका तीनवटा घर क्षतिग्रस्त भएका छन्। उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल भने पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुल नजिक रहेको जगत होटलसमेत पूर्ण रूपमा बगाएको छ। छेवाङ दोर्जेको घर पनि अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ।
बुढीगण्डकीमाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत अवरुद्ध भएको छ। बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ भने सरकारी तथा निजी विद्युत् प्रणालीमा समेत क्षति पुगेको छ।

यसैबीच, चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आए पनि उनीहरूसँग पुनः सम्पर्क भइसकेको र दुवै जना सुरक्षित रहेको बताइएको छ। हालसम्म मानवीय क्षति भने नभएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा बाढी तथा नदी कटानका कारण मात्रै ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा भएको थप क्षतिको विवरण संकलन भइरहेको छ।












