नेपाल आइडल सिजन ६ का विजेतालाई पुरस्कार नदिएको आरोप, एपीवानमाथि प्रश्न
काठमाडौं।नेपाल आइडल सिजन ६ का विजेताहरूले प्रतियोगिता सम्पन्न भएको लामो समय बितिसक्दा पनि सम्झौताअनुसार पाउनुपर्ने पुरस्कार तथा अवसर नपाएको गुनासो गरेका छन्। यस विषयमा प्रतियोगिताका फर्स्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गान्धारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपाल आइडलसँगको एकवर्षे सम्झौता ३१ अगस्ट २०२६ मा समाप्त भएपछि फर्स्ट रनरअप बबिता थापा मगरले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सम्झौतामा विजेता प्रतियोगीलाई निश्चित रकम उपलब्ध गराउने तथा विभिन्न देशमा कन्सर्ट गर्ने लगायतका प्रतिबद्धता उल्लेख भए पनि ती पूरा नभएको दाबी गरेकी छन्।
![]()
उनका अनुसार आफूहरूले पटक–पटक सम्बन्धित पक्षसँग कुराकानी गरेर समस्या समाधान गर्ने प्रयास गरे पनि हरेकपटक ‘भोलि दिन्छौँ’, ‘भोलि हालिदिन्छौँ’ भन्ने आश्वासन मात्र पाएको र अहिलेसम्म पनि रकम तथा कन्सर्टसम्बन्धी विषय टुंगोमा नपुगेको गुनासो छ।
बबिताले यो आवाज आफूका लागि मात्र नभई अन्य प्रतियोगीको अधिकारका लागि समेत उठाएको बताएकी छन्। सम्झौतामा उल्लेख गरिएका सुविधा तथा प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने उनको माग छ।
यसैबीच, नेपाल आइडलका विगतका सिजनमा समेत प्रोड्युसरका रूपमा काम गरेका सुजन श्रेष्ठले पनि एपीवानको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामले समेत पुरस्कार नपाएको दाबी गरेका छन्।

श्रेष्ठले ‘सिजन ४ देखि नै पुरस्कार वितरणमा समस्या देखिँदै आएको’ आरोप लगाउँदै अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित रियालिटी शोको प्रतिष्ठामाथि नै प्रश्न उठिरहेको टिप्पणी गरेका छन्।
नेपाल आइडलका प्रतियोगीहरूले सम्झौताअनुसारको पुरस्कार, सुविधा र अवसर नपाएको गुनासो सार्वजनिक भएपछि एपीवान टेलिभिजनको व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ। यद्यपि, आरोपबारे एपीवानको आधिकारिक धारणा भने सार्वजनिक रूपमा आइसकेको छैन।

रियालिटी शोमा विवाद नयाँ होइन
नेपाल आइडल मात्र नभई विभिन्न रियालिटी शोका प्रतियोगी तथा विजेताले पुरस्कार, पारिश्रमिक, सम्झौता र कार्यक्रमसम्बन्धी प्रतिबद्धता पूरा नभएको गुनासो समय–समयमा सार्वजनिक गर्दै आएका छन्। शो सकिएपछि विजेतालाई उचित प्लेटफर्म नदिने, पुरस्कार वितरणमा ढिलाइ हुने तथा सम्झौताका सर्त कार्यान्वयनमा समस्या हुने विषय नेपाली रियालिटी शो क्षेत्रमा पटक–पटक उठ्दै आएको छ।
यस्ता विवादले रियालिटी शोको पारदर्शिता, प्रतियोगीसँग गरिने सम्झौता तथा आयोजकको जवाफदेहितामाथि प्रश्न उठाउने गरेको छ।












