ग्यासको आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङको निजी ग्यास कम्पनीसँग सहकार्य
काठमाडौँ।पृथ्वी राजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य सुरु गरेको छ।
धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि कर्पोरेशनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था बनेको थियो। त्यसपछि कर्पोरेशनले मनोज र बाबा ग्यासका सहज स्थानमा रहेका प्लान्टसँग सहकार्य गरी आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार पहिलो चरणमा निजी प्लान्टमा भरिएका एसटिसी सिलिन्डर शुक्रबारसम्म काठमाडौं आइपुग्नेछन्। कर्पोरेशनले आफ्नो प्लान्टका लागि छुट्याइएका केही ग्यासका बुलेटसमेत निजी प्लान्टतर्फ ‘डाइभर्ट’ गरेको जनाएको छ।
हाल नेपाल आयल निगमबाट कर्पोरेशनले पाउने ग्यासको कोटा सीमित रहेको छ। भारतीय आयल कर्पोरेशनसँग सम्झौता गरिएका करिब ३ हजार २५ ग्यास बुलेटमध्ये कर्पोरेशनको भागमा करिब २ प्रतिशत अर्थात् ५३ बुलेट मात्र पर्ने गरेको छ। कर्पोरेशनका अनुसार मासिक ५५ हजारदेखि ६० हजार एसटिसी सिलिन्डर खपत हुने गरेको छ।
कर्पोरेशनले उपभोक्तालाई ग्यास अभाव हुन नदिन कुपन प्रणालीमार्फत वितरणलाई व्यवस्थित गर्दै आएको जनाएको छ। कुपन वितरणकै समयमा ग्यास प्राप्त गर्ने दिनसमेत सुनिश्चित गरिने झाको भनाइ छ।
यसैबीच, कर्पोरेशनले करिब छ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात रहेको जनाएको छ। भदौ १७ गतेसम्म कर्पोरेशनका भण्डारणमा १ लाख २७ हजार ३६१ मेट्रिकटन नुन मौज्दात रहेको बताइएको छ।
त्यस्तै, बजारमा चिनीको मूल्य बढिरहेका बेला कर्पोरेशनले प्रतिकिलो १०० रुपैयाँमा चिनी बिक्री गर्दै आएको छ। निजी क्षेत्रबाट प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री भइरहेको अवस्थामा कर्पोरेशनले बजार हस्तक्षेप गर्दै हालसम्म ३ हजार टन चिनी बजारमा पठाइसकेको जनाएको छ।












