धरानमा असोज १७ गते ‘सुम्निमा रन–२०८३’ आयोजना हुँदै – Sagarmathapana:: Online News Portal

धरानमा असोज १७ गते ‘सुम्निमा रन–२०८३’ आयोजना हुँदै

   २०८३ भाद्र १९ गते  

धरान।स्वास्थ्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा ‘सुम्निमा रन–२०८३’ आयोजना हुने भएको छ। सुम्निमा रन कमिटीको आयोजनामा आगामी असोज १७ गते (३ अक्टोबर २०२६) शनिबार दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो।

सुम्निमा पारुहाङ प्रतिष्ठानको सुपरिवेक्षण तथा मार्गदर्शनमा हुने प्रतियोगिता करिब ३ किलोमिटर दूरीको हुनेछ। दौड सरदु खोला पुलस्थित जानकी चोकबाट सुरु भई चिण्डे डाँडामा पुगेर सम्पन्न हुनेछ। सहभागीका लागि प्रवेश शुल्क रु. ५०० तोकिएको छ भने बिहान ६ः३० बजे रिपोर्टिङ गर्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा १७ देखि ३९ वर्षसम्म खुला, ४० देखि ५९ वर्षसम्म भेट्रान र ६० वर्षमाथि सुपर भेट्रान विधा राखिएको छ। खुला पुरुष तथा महिला विधाका विजेताले समान रूपमा प्रथमलाई रु. १५ हजार, द्वितीयलाई रु. १० हजार र तृतीयलाई रु. ७ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै, भेट्रान विधाका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु. १० हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्नेछन्। सुपर भेट्रानतर्फ प्रथम हुने महिला तथा पुरुषलाई रु. १० हजार पुरस्कार प्रदान गरिनेछ।

आयोजकका अनुसार पहिलो २ हजार जना दर्ता भएका धावक मात्र विजेता उपाधि तथा नगद पुरस्कारका लागि योग्य हुनेछन्। सबै सहभागीलाई एकदिने बीमा र दौड पूरा गर्ने प्रत्येक धावकलाई फिनिसर मेडल प्रदान गरिनेछ।

परम्परागत तथा सांस्कृतिक पोशाकमा दौड पूरा गर्ने सहभागीलाई विशेष पुरस्कार तथा उपहार प्रदान गरिनेछ। त्यस्तै, दौडको सुरुदेखि अन्तिम रेखासम्म आफ्ना अभिभावकलाई बोकेर दौड पूरा गर्ने धावकलाई विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकले स्वास्थ्य, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुन लागेको सुम्निमा रनमा सबैलाई सहभागी भएर कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

Screenshot

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै