चलचित्र निर्देशक सुबास गुरुङ ‘गणेश’द्वारा विपद् राहत कोषमा आर्थिक सहयोग – Sagarmathapana:: Online News Portal

चलचित्र निर्देशक सुबास गुरुङ ‘गणेश’द्वारा विपद् राहत कोषमा आर्थिक सहयोग

   २०८३ भाद्र १४ गते  

काठमाडौँ।गुरुङ समुदायको चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय चलचित्र निर्देशक सुबास गुरुङ ‘गणेश’ले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

हङकङमा बस्दै आएका गुरुङ चलचित्र निर्माण तथा निर्देशनसँगै सामाजिक सेवामा समेत सक्रिय छन्। गुरुङ समुदायका चलचित्रमा लामो समयदेखि योगदान दिँदै आएका उनले हालै ‘तेनो कुर्सी ((ढोगभेट)’ चलचित्र निर्देशन गरेका थिए। उक्त चलचित्र हङकङ, नारायणगढ, भरतपुर र काठमाडौंमा प्रदर्शन भइसकेको छ।


प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा आफ्नो परिवारको तर्फबाट सहयोगस्वरूप राहत कोषमा रकम जम्मा गरेको गुरुङले बताएका छन्।

उनले विगतमा भोगेको महाभूकम्प र कोभिड–१९ महामारीको कठिन अनुभव स्मरण गर्दै विपद्को पीडा आफूले नजिकबाट अनुभूति गरेको उल्लेख गरेका छन्। भूकम्पका बेला बिरामी बुवा–आमालाई लिएर पालमुनि बस्नुपरेको र खान–बस्नकै समस्या झेल्नुपरेको स्मरण गर्दै उनले अहिले विपद्मा परेका नागरिकको पीडामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम तथा नयाँ–पुराना लत्ताकपडा सहयोग गरेको बताएका छन्।

गुरुङले विपद्का कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितको समयमै उद्धार तथा राहतको उचित व्यवस्था गर्न आग्रह गरेका छन्।

उनले सकेको सहयोग गर्न र सहयोग गर्न नसके विपद्को विषयलाई राजनीतिकरण वा अनावश्यक खण्डन–विरोध नगर्न पनि सबैलाई आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै