भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आईएमई ग्रुपले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको हो।
आईएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीहरूले समेत आफ्नो एक दिनको तलब बराबरको रकम विपद् प्रभावितका लागि सहयोग गर्ने भएका छन्।
यसैगरी, विदेशबाट नेपालमा रकम पठाउँदा निःशुल्क रेमिटेन्स पठाउन सकिने व्यवस्था मिलाइएको ग्रुपले जनाएको छ। खल्तीमार्फत सरकारी राहत कोषमा रकम जम्मा गर्दा समेत कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको बताइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग घोषणा भइरहेका बेला आईएमई ग्रुपको यो सहयोगले राहत अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।













