बाढीपहिरोको असर मनोरञ्जन क्षेत्रमा, धमाधम स्थगित हुँदै कार्यक्रम – Sagarmathapana:: Online News Portal

बाढीपहिरोको असर मनोरञ्जन क्षेत्रमा, धमाधम स्थगित हुँदै कार्यक्रम

   २०८३ भाद्र १४ गते  

काठमाडौँ।रसुवा,नुवाकोट,धादिङ लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यसको प्रभाव नेपाली मनोरञ्जन तथा सांस्कृतिक क्षेत्रमा समेत परेको छ। देश शोक र विपद्को अवस्थामा रहेकाले पूर्वनिर्धारित विभिन्न कार्यक्रमहरू स्थगित हुन थालेका छन्।

हास्यकलाकार मनोज गजुरेलको समूहले आयोजना गर्न लागेको ‘८३ सालको गाईजात्रा’ कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको छ। भदौ १२ देखि १४ गतेसम्म प्रज्ञा–प्रतिष्ठानमा आयोजना गर्ने तयारी गरिएको कार्यक्रमका अधिकांश व्यवस्थापकीय काम पूरा भइसके पनि विपद्को संवेदनशील अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित नहुने भन्दै स्थगित गरिएको हो।

गजुरेलका अनुसार परिस्थिति सामान्य भएपछि उपयुक्त समयमा कार्यक्रम पुनः आयोजना गरिनेछ। कार्यक्रममा शैलेन्द्र सिम्खडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपानेलगायत कलाकार सहभागी हुने तय भएको थियो।

त्यस्तै, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले भदौ १२ देखि १५ गतेसम्म आयोजना गर्ने तयारी गरेको ‘हास्य व्यङ्ग्य प्रहसन २०८३’ पनि स्थगित भएको छ। संस्थानका महाप्रबन्धक किरणबाबु पुनका अनुसार देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम रोकिएको हो। प्रहसनमा भरतमणि पौडेल, सुमन कोइराला, दिनेश काफ्लेलगायत करिब दुई दर्जन कलाकार सहभागी हुने तयारी थियो।

विपद्को असर अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमसम्म पुगेको छ। नेपाल भ्रमणमा रहेकी अमेरिकी कन्ट्री तथा रक गायिका लिन जेसिकाको काठमाडौँमा हुने भनिएको कन्सर्ट पनि स्थगित गरिएको छ। अमेरिकी दूतावासले प्राकृतिक विपत्तिको अवस्थालाई मध्यनजर गर्दै पुल्चोकस्थित ‘द प्लाजा’मा शनिबार आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको जनाएको छ।

यसैगरी, परिवर्तन नेपालले आयोजना गर्ने ‘चेतन कार्की स्मृति पुरस्कार’ वितरण कार्यक्रमसमेत स्थगित गरिएको छ। संस्थाका अध्यक्ष मोहन निरौलाले अहिले उत्सवभन्दा विपद्मा परेकाहरूको उद्धार, राहत र सहयोगलाई प्राथमिकता दिनुपर्ने भएकाले कार्यक्रम रोकिएको बताएका छन्।

विदेशमा रहेका नेपाली कलाकारहरूले पनि विपद्को अवस्थाप्रति ऐक्यबद्धता जनाएका छन्। अमेरिकाको सांगीतिक यात्रामा रहेको लोकप्रिय ब्यान्ड ‘कन्दरा’ले एटलान्टामा हुने आफ्नो निर्धारित प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति सभामा परिणत गर्ने निर्णय गरेको छ। ब्यान्डले मनोरञ्जनभन्दा मानवीय संवेदना महत्वपूर्ण रहेको भन्दै संगीतलाई सेवासँग जोड्ने जनाएको छ।

यसअघि गीतकार संघ नेपालले आफ्नो वार्षिकोत्सव कार्यक्रम स्थगित गरिसकेको छ। गायिका रचना रिमाल र एलिना चौहानले पनि अस्ट्रेलियामा आयोजना हुने आफ्ना निर्धारित सांगीतिक कार्यक्रम रोकेका छन्।

बाढीपहिरोका कारण देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला मनोरञ्जन क्षेत्रले समेत उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिन थालेको छ। कलाकार तथा सांस्कृतिक संस्थाहरूले कार्यक्रम स्थगित गर्दै विपद्प्रति ऐक्यबद्धता जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै