भदौ १९ देखि काठमाडौंमा विद्युत् तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी – Sagarmathapana:: Online News Portal

भदौ १९ देखि काठमाडौंमा विद्युत् तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी

   २०८३ भाद्र ४ गते  

काठमाडौं।नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ।

नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्। आयोजकका अनुसार प्रदर्शनीले उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच व्यावसायिक सहकार्य र नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्‍याउनेछ।

प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स तथा घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री राखिनेछ।

नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षता प्रवद्र्धन तथा विद्युतीय पूर्वाधार विकासका विषयमा समेत प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। साथै यसले प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन र अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) सहयोगी संस्थाका रूपमा रहेका छन्।

आयोजकले प्रदर्शनीमा उद्योगी–व्यवसायी, सरकारी अधिकारी, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर, प्राविधिक, विद्युतीय व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै