पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश
काठमाडौँ।उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश अच्युत कुइँकेलको इजलासले प्रकाशित समाचारको विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्ने भन्दै श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो।

अदालतले श्रेष्ठलाई पक्राउ नगर्न तीन आधार प्रस्तुत गरेको छ। पहिलो, पत्रिकामा प्रकाशित समाचारविरुद्ध प्रेस काउन्सिलमा उजुरी परी त्यहाँबाट कारबाहीको प्रक्रिया अघि बढिरहेको अवस्थामा धरपकड गर्न नहुने अदालतको ठहर छ।
त्यस्तै, नेपालको संविधानको धारा १७ ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ मा उल्लेखित सञ्चारको हकलाई समेत आधार बनाउँदै अदालतले श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो।
अदालतको आदेशसँगै प्रकाशित समाचारको विषयमा पत्रकारमाथि हुने कारबाही प्रेस काउन्सिलको क्षेत्राधिकारबाटै अघि बढाउनुपर्ने देखिएको छ।













