र्याडिसन होटलको ग्यास मौज्दातबारे चेम्बरको आपत्ति, तथ्यमा आधारित सूचना सार्वजनिक गर्न आग्रह
काठमाडौं।नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै सार्वजनिक गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो।

![]()
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा भएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको भनिएपछि चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको स्पष्ट पारेको छ।


चेम्बरका अनुसार होटलमा करिब २०० हाराहारी ग्यास सिलिन्डर मौज्दात रहनु पनि होटलको सञ्चालनको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक होइन। व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्न नहुने चेम्बरको भनाइ छ।
चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानूनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध व्यवसायलाई हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने जनाएको छ।
होटल तथा पर्यटन व्यवसायलगायत उद्योग–व्यवसायसँग सम्बन्धित आपूर्ति वा नियमनका समस्या देखिए सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ।


चेम्बरले तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिने जनाएको छ।













