नाइमा मोबिलिटी एक्स्पो सम्पन्न, १ लाख ८० हजारभन्दा बढीले गरे अवलोकन – Sagarmathapana:: Online News Portal

नाइमा मोबिलिटी एक्स्पो सम्पन्न, १ लाख ८० हजारभन्दा बढीले गरे अवलोकन

   २०८३ भाद्र १ गते  

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सम्पन्न भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा १ लाख ८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।

साउन २६ गतेदेखि सुरु भएको एक्स्पोको समापनसँगै आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक सहभागिता जनाएको दाबी गरेको छ। नाइमा एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन तथा मोडल सार्वजनिक गरिएको थियो।

समापन कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले ठूलो संख्यामा दर्शकको सहभागिता, उल्लेख्य ब्रान्डको उपस्थिति र नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन्।

उनले एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता नभई नेपालको समग्र मोबिलिटी उद्योगको सामूहिक सफलता भएको बताउँदै सहभागी सबैप्रति धन्यवाद व्यक्त गरिन्।

‘एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ,’ उनले भनिन्, ‘एक्स्पो सवारीसाधन प्रदर्शन गर्ने ठाउँ मात्र नभई ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो।

नाइमा बोर्ड सदस्य क्याप्टेन श्रेष्ठले एक्स्पोमा भएको उल्लेख्य सहभागिताले अटोमोबाइल उद्योगका लागि सकारात्मक संकेत दिएको बताए। उनका अनुसार एक्स्पो समग्र रूपमा सफल भएको र यसले अटो उद्योगमा थप उत्साह सिर्जना गरेको छ।

अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शक एक्स्पोमा आएको बताए। उनले अपेक्षाभन्दा बढी अवलोकनकर्ता, राम्रो इन्क्वायरी र बुकिङ भएकाले आयोजकहरू उत्साहित भएको उल्लेख गरे।

त्यस्तै, नाइमा स्ट्राटेजी एन्ड मेम्बरशिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई एक शब्दमा वर्णन गर्नुपर्दा ‘सुपरहिट’ भएको बताए।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसँगै सिकाइका सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको अवधारणालाई थप बलियो बनाइएको बताए। उनका अनुसार दर्शकले देखाएको सन्तुष्टि नै एक्स्पोको सफलताको मुख्य मापन हो।

एक्स्पोको समापनका अवसरमा ‘Importing Talent, Exporting Workers: Bridging Nepal’s Education, Skills and Entrepreneurship Gap’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो। संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमा बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेढाईं तथा थापाथली इन्जिनियरिङ क्याम्पसका असिस्टेन्ट प्रोफेसर लोचनचन्द्र देवकोटा सहभागी थिए।

एक्स्पो अवधिभर विभिन्न विषयमा संवाद तथा सिकाइ सत्रसमेत सञ्चालन गरिएको थियो। शनिबार ‘AI and Automotive Technology: Driving the Future of Mobility’, शुक्रबार ‘Technical: Battery Recycle and Ethanol Blending in Fuel’, बिहीबार ‘Mobilizing Mobility through Finance & Insurance’ र बुधबार ‘Mobility: हिजो, आज र भोलि’ विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth’ विषयमा छलफल भएको थियो।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आईएमई बैंक रहेको थियो भने रेडबुल पावरड्रिंक पावर बायको रूपमा सहभागी थियो। बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी रहेका थिए।

त्यस्तै, बोस्च (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एभरेस्ट कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर तथा पठाओ नेपाल र अक्वा हन्ड्रेड हाइड्रेसन पार्टनरका रूपमा सहभागी थिए।

नाइमा मोबिलिटी एक्स्पोको को–टिकेटिङ पार्टनरमा आईएमई खल्ती, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स, भेहिकल सेफ्टी पार्टनरमा एटीएस नेपाल तथा म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स रहेका थिए।

नाइमा एक्स्पोको दोस्रो संस्करणले नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनसँगै अटोमोबाइल क्षेत्रका सरोकारवालाबीच संवाद, ज्ञान आदानप्रदान र व्यवसायिक सहकार्यका लागि समेत महत्वपूर्ण प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरेको आयोजकको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै