देउवा फर्किएसँगै कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो,गगनलाई सभापति नमान्ने संकेत
काठमाडौं।नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीभित्रको नेतृत्व विवाद थप चर्किएको छ। देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको रूपमा स्वीकार नगर्ने स्पष्ट संकेत दिएको छ।
स्वदेश फर्किएपछि विमानस्थलमा भव्य स्वागत पाएका देउवा चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए। त्यहाँ कार्यालयको ढोकामा देउवालाई सभापतिको रूपमा उल्लेख गरिएको नेमप्लेट राखिएको छ भने उनका लागि छुट्टै कार्यकक्षसमेत तयार पारिएको छ।



पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट निस्सा प्राप्त भएपछि संस्थापन इतर समूहले देउवालाई नै आफ्नो वैधानिक सभापति दाबी गर्दै आएको छ। सोही समूहले शुक्रबार बिहान ११ बजे राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलाको उद्घाटन देउवाले गर्ने कार्यक्रम रहेको नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।
भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले देउवा नै आफूहरूको वैधानिक सभापति रहेको दाबी गरेका छन्। यद्यपि, उनले पार्टीभित्रको विवाद समाधान गर्दै एकता कायम गर्ने प्रयास भने जारी रहने बताएका छन्।


स्वदेश फर्किएलगत्तै देउवाले पनि पार्टीभित्र देखिएको असहमति र निराशा अन्त्य गर्दै एकताका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्। पछिल्लो घटनाक्रमले कांग्रेसभित्र नेतृत्व र आधिकारिकताको विवाद थप पेचिलो बन्ने संकेत गरेको छ।














