दुबईमा ३२औँ विश्व आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न – Sagarmathapana:: Online News Portal

दुबईमा ३२औँ विश्व आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न

   २०८३ श्रावण २९ गते  

दुबई।प्राप्त अधिकार रक्षा आजको आवश्यकता! पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!!” भन्ने नाराका साथ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) यूएईको आयोजनामा ३२औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस दुबईमा भव्य रूपमा सम्पन्न भएको छ।

नेफिन यूएई, आबद्ध १२ जातीय सङ्घसंस्था तथा आदिवासी जनजाति युवा महासङ्घ यूएईको संयुक्त सहभागितामा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक संस्कृति, भाषा, भेषभूषा, खानपान, नाचगान तथा परम्पराको प्रदर्शन गरिएको थियो।



नेफिन यूएईका अध्यक्ष भागीरथी कुमार भगतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुबईका वाणिज्यदूत कुञ्जन शाह प्रमुख अतिथि थिए। कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न जातीय समुदायका सांस्कृतिक झाँकी, मौलिक नाचगान, परम्परागत खानाका परिकार, जातीय भाषा तथा भेषभूषाका स्टल र मौलिक सामग्रीको प्रदर्शनी गरिएको थियो। प्रमुख अतिथि शाहलगायत अतिथिहरूले विभिन्न जातीय स्टलको अवलोकन गर्दै मौलिक सामग्री तथा परिकारबारे जानकारी लिएका थिए।


नेवा: पुच: यूएईको विशेष सांस्कृतिक प्रस्तुति

कार्यक्रममा नेवा: पुच: यूएईले मौलिक नेवारी कला, संस्कृति र परम्पराको विशेष प्रस्तुति दिएको थियो। संस्थाका तर्फबाट योगदान पुर्‍याएका सल्लाहकार भीम नारायण श्रेष्ठ र केन्द्रीय सदस्य योगिता हाडालाई सम्मानसमेत गरिएको थियो।

नेवा: पुच: यूएईको स्टलमा विभिन्न मौलिक नेवारी परिकार तथा सांस्कृतिक सामग्री प्रदर्शन गरिएको थियो। धिमे, भुस्या, खिं, लाखे नाच तथा नेवारी नृत्यसहितको प्रस्तुति कार्यक्रमको आकर्षण बनेको थियो।


लक्ष्मण श्रेष्ठले धिमे, कुमार बलामीले भुस्या, किरण बज्राचार्यले खिं, समिक श्रेष्ठले लाखे नाच तथा प्रतिमा बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गरेका थिए। नेवारी परम्परागत सामग्री सुकुन्दा, पानस, जल न्हायकँ सिनामु, कोटा, शंख, घण्टीलगायत सामग्रीसहितको झाँकीसमेत प्रस्तुत गरिएको थियो।

फोनिज यूएईको तेस्रो अधिवेशन

विश्व आदिवासी जनजाति दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूएईको तेस्रो अधिवेशन पनि सम्पन्न भएको छ।

अधिवेशनले सूर्यबहादुर खवासको अध्यक्षतामा २१ सदस्यीय २०२६–२०२८ कार्यसमिति निर्वाचित गरेको छ। उपाध्यक्षमा सचिन्द्र श्रेष्ठ, कविराज राजवंशी, सन्देश तमु र श्यामबहादुर चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, सचिवमा किशोरी लामा, कोषाध्यक्षमा राम छिलिङ राई तथा सहकोषाध्यक्षमा आनन्द कुमार भुजेल चयन भएका छन्। सदस्यहरूमा जीवन तामाङ, रेमिका सुनुवार श्रेष्ठ, बिन्दु सुनुवार, अमृता बान्तवा, सञ्जय भुजेल, दिना कुमाल, स्नेहा तमु, प्रसाद तमु, रोशन महतो, दिलीप हाँङ्ग, टिका फियाक र देवी माया सुनुवार निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक नेफिन यूएईका प्रमुख संरक्षक एवं निवर्तमान अध्यक्ष विक्रम पङ्धाक, उपसंयोजक प्रमुख सल्लाहकार बुद्धि मेवाहाङ राई तथा सदस्य नेवा: पुच: यूएईका महासचिव कुमार बलामी रहेका थिए।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउँदै प्रमाणपत्र तथा खादा प्रदान गरिएको थियो।

कार्यक्रमले यूएईमा रहेका विभिन्न आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य, सांस्कृतिक संरक्षण र मौलिक पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

नेफिन यूएईका सल्लाहकार तथा नेवा: पुच: यूएईका महासचिव कुमार बलामीले विदेशमा रहे पनि नेपाली हुनुको गौरव कायम राख्दै राष्ट्रियताको सवालमा सबै जातीय समुदाय एकजुट भएर नेपालको पहिचानलाई विश्वसामु उजागर गर्नुपर्नेमा जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै