काठमाडौं महानगर प्रमुख बालेन साहले खटायो उद्दारको लागी प्रहरीका १७ वटा टोली – Sagarmathapana:: Online News Portal

काठमाडौं महानगर प्रमुख बालेन साहले खटायो उद्दारको लागी प्रहरीका १७ वटा टोली

   २०८१ आश्विन १२ गते  

काठमाडौं :  काठमाडौं महानगर प्रमुख बालेन साहले सामाजि संजालमा लेख्दै वर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका छन्।

पछिल्लो समय निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको उनको भनाइ छ।

उनका अनुसार ती टोली डुबान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्नरत छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘वंशीघाट विश्व निकेतन विद्यालय पछाडि, कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ । यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो । आवश्यक सतर्कता अपनाऔँ । विपद सामना गर्न पूर्व तयारी गरौँ ।’

त्यस्तै, काठमाडौँ महानगरपालिकाका हटलाइन नम्बर १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन उनले आग्रह गरेका छन्।  साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न पनि मेयर साहले आग्रह गरेका छन्।

उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ। मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा परेका छन्। उपत्यकामै केही स्थानमा पुल बगेका छन्। मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै