काठमाडौं मोडल कलेजको २३औँ दीक्षान्त सम्पन्न,१२० विद्यार्थी दीक्षित – Sagarmathapana:: Online News Portal

काठमाडौं मोडल कलेजको २३औँ दीक्षान्त सम्पन्न,१२० विद्यार्थी दीक्षित

   २०८३ श्रावण १८ गते  

काठमाडौं।काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) ले आफ्नो २३औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। श्रावण १५ गते होटल बेस्ट वेस्टर्न प्लस, पिंगलास्थान–गौशालामा आयोजित समारोहमा स्नातक तह उत्तीर्ण करिब १२० विद्यार्थी दीक्षित भएका हुन्।

समारोहको अध्यक्षता केएमसी एजुकेसनल नेटवर्कका कार्यकारी निर्देशक सहप्राध्यापक अजयप्रसाद ढकाल ले गरेका थिए। कलेज प्रमुख सुरेन्द्र सुवेदी ले दीक्षित विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरू कलेजका ‘ब्रान्ड एम्बेसेडर’ भएको उल्लेख गरे। उनले ज्ञानसँगै विनम्रता र सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई सुशोभन शपथ गराएका थिए।

कार्यक्रमका प्रमुख वक्ता प्रा. डा. सन्तोष खड्का ले अध्ययनबाट हासिल गरेको ज्ञान र सीपलाई राष्ट्र निर्माणमा प्रयोग गर्न विद्यार्थीहरूलाई प्रेरित गरे। उनले नेपालमै प्रशस्त अवसर रहेको उल्लेख गर्दै युवाहरूले सकारात्मक सोच र सिर्जनात्मक कार्यमार्फत समुन्नत भविष्य निर्माण गर्नुपर्ने धारणा राखे।

समारोहमा अध्ययन अवधिभर स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबमार्फत उल्लेखनीय योगदान दिएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै केएमसी एकेडेमिक एक्सेलेन्स अवार्ड अन्तर्गत विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी तथा रु. ३३,३३३ नगदसहित सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्ड अन्तर्गत उत्कृष्ट अनुसन्धान, इन्टर्नशिप तथा परियोजना प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पनि समान नगद पुरस्कारसहित सम्मान गरिएको कलेजले जनाएको छ।

यस वर्षको प्रतिष्ठित केएमसी एक्सेलेन्स अवार्ड भने बिबिएम संकायका बिगुल सापकोटा ले प्राप्त गरेका छन्। शैक्षिक उपलब्धि, सहपाठ्यक्रियामा सक्रियता तथा समग्र मूल्यांकनका आधारमा उनलाई प्रमाणपत्र, ट्रफी र रु. ४० हजार नगदसहित सम्मान गरिएको हो।

सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सिना ले सञ्चालन गरेको कार्यक्रममा केएमसी नेटवर्कका विभिन्न कलेजका निर्देशक, विभागीय प्रमुख, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वि.सं. २०६० मा स्थापना भएको काठमाडौं मोडल कलेजमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस, एमए (अंग्रेजी), बीबीए, बीबीएम, बीबीएस, बीसीए तथा बीए कार्यक्रम सञ्चालन हुँदै आएका छन्। विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त यस कलेज नेपाल सरकार, शिक्षा मन्त्रालयबाट निजी कलेजतर्फ सर्वोत्कृष्ट शैक्षिक संस्था को सम्मानसमेत प्राप्त गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै