विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका एक युवकको सकुशल उद्धार – Sagarmathapana:: Online News Portal

विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका एक युवकको सकुशल उद्धार

   २०८३ श्रावण ६ गते  

विराटनगर।विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका एक युवकलाई समयमै खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ।

सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका-१ घर भई हाल विराटनगर महानगरपालिका-१३ मा डेरा गरी बस्ने ३५ वर्षीय सञ्जीव झालाई बुधबार अपराह्न प्रहरीले जोगाएको हो।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पत्नीसँगको विवादका कारण उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए। घटनास्थलबाट प्रहरीले आगो लाउन तयार पारिएको सलाईसमेत बरामद गरेको छ।

बुधबार अपराह्न करिब ४:३० बजे घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले समयमै हस्तक्षेप गरेका कारण ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ। हाल उद्धार गरिएका झालाई वडा प्रहरी कार्यालयमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

रोजगारीका लागि भारतमा बस्दै आएका झा घटनाको चार दिन अगाडि मात्रै विराटनगर फर्किएका थिए। उनका पत्नी र दुई सन्तान छन् भने पारिवारिक विवादका कारण उनले यो कदम उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै