चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी आरोपमा हास्य कलाकार र पूर्व एसएसपीसहित तीन पक्राउ
काठमाडौं।अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई कानुनी प्रक्रिया पूरा नगरी छुटाइदिने तथा नियन्त्रणमा रहेका राहदानी फिर्ता गराइदिने भन्दै रकम असुलेको आरोपमा चर्चित हास्य कलाकार र सशस्त्र प्रहरी बलका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित तीन जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अध्यागमन विभाग, कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाउने र नियन्त्रणमा रहेका १५ वटा राहदानी फिर्ता गराइदिने भन्दै रकम असुलेको आरोपमा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० बुद्धनगर बस्ने ५२ वर्षीय नारदप्रसाद खतिवडा, ललितपुर नख्खीपोट बस्ने सशस्त्र प्रहरीका पूर्व एसएसपी ५९ वर्षीय गोपालकुमार गुरुङ र ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले चिनियाँ नागरिकलाई हिरासतबाट छुटाउने वातावरण मिलाइदिने भन्दै ७२ लाख रुपैयाँभन्दा बढीको डिल गरेको र त्यसबापत पेश्कीस्वरूप ९ लाख रुपैयाँ लिइसकेको आरोप छ। रकम लिएपछि पनि काम नगरिदिएको भन्दै परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएर उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। घटनामा अन्य प्रशासनिक अधिकारी वा बिचौलियाको संलग्नता भए/नभएको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।












