माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन – Sagarmathapana:: Online News Portal

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

   २०८३ श्रावण ६ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा हुने डुबानको प्राविधिक कारण पहिचान गरी प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएकी छन्।

मंगलबार साँझ माइतीघर क्षेत्रको डुबानको अनुगमन गर्दै डंगोलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई प्राविधिक अध्ययनसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन्।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग र महानगर प्रहरी बलका अधिकारी सहभागी थिए।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख सुवोध देवकोटाका अनुसार माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल भए पनि निकास हुने स्थानमा ६० सेन्टिमिटरको ढल रहेकाले पानीको निकासमा समस्या देखिएको प्रारम्भिक निष्कर्ष छ। यद्यपि, डुबानको कारण यही मात्र नभई मण्डला क्षेत्र आसपासका संरचना निर्माणका क्रममा ढल निकास प्रणालीमा अवरोध सिर्जना भएको हुनसक्ने अधिकारीहरूले बताएका छन्।

कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित सबै साझेदार निकायसँग सहकार्य गरी माइतीघर क्षेत्रको ढल प्रणालीमा देखिएका अवरोध हटाएर डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै