नेपाल–रुस सम्बन्धलाई थप गतिशील बनाउन सहकार्य विस्तार गर्नुपर्छ : वर्षमान पुन
काठमाडौं।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन्।
नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासले काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले दुई देशबीच शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यले सम्बन्ध थप सुदृढ बनेको बताए।

उनले नेपालको विकासको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले पुर्याएको योगदान महत्वपूर्ण रहेको स्मरण गरे। साथै, रुसमा उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञानलगायत विभिन्न क्षेत्रमा नेपाल निर्माणमा योगदान दिएको बताए।
पुनले आगामी दिनमा व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान–प्रविधि तथा नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा नेपाल–रुस सहकार्य विस्तार गर्न सकिने बताए।
दुवै देशका सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक समुदाय र जनस्तरका सञ्जालबीच थप सहकार्य तथा संवाद आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ, गतिशील र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।

उनले कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यमा सहकार्य थप मजबुत बनाउने अवसरसमेत भएको बताए। कार्यक्रममा पुनले नेपाल र रुसबीच सात दशकमा भएका उच्चस्तरीय भ्रमण, सहकार्य तथा जनस्तरका सम्बन्ध झल्काउने तस्बिर समेटिएको फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए।












