मन्त्रालय संख्या ८ मा झर्यो, ६ मन्त्रीको जिम्मेवारी समाप्त
काठमाडौं।बागमती प्रदेश सरकारले मन्त्रालय संख्या घटाउने निर्णय शुक्रबार (साउन १)देखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। यससँगै प्रदेशमा रहेका १४ मन्त्रालय घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय कायम गरिएको छ।
प्रदेश मन्त्रिपरिषद्को गत वैशाख २२ गते बसेको बैठकले मन्त्रालय पुनर्संरचनाको निर्णय गरेको थियो, जुन नयाँ आर्थिक वर्षको सुरुवातसँगै लागू भएको हो।
निर्णय कार्यान्वयन भएसँगै सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) का ६ जना मन्त्रीको जिम्मेवारी स्वतः समाप्त हुने भएको छ। अब ती मन्त्रीहरूलाई फिर्ता बोलाइने प्रक्रिया अघि बढ्ने जनाइएको छ।
नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग, भूमि तथा प्रशासन मन्त्रालय तथा सामाजिक विकास मन्त्रालय मात्र कायम रहनेछन्।
प्रदेश सरकारले मन्त्रालय संख्या घटाएर प्रशासनिक खर्च नियन्त्रण, सरकारी संरचना चुस्त बनाउने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको जनाएको छ।












