३९ महिनामा काठमाडौँ महानगरका ९० हजार सेवाग्राहीले पाए निःशुल्क कानुनी तथा प्रशासनिक सेवा
काठमाडौं।काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता कार्यक्रममार्फत ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान गरेको जनाएको छ। चालु आर्थिक वर्षमा असार २२ गतेसम्म मात्रै २२ हजार १३० जनाले उक्त सेवा लिएका छन्।

महानगरले २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सम्झौता गरी स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत ५० जना विद्यार्थी छनोट गरेको थियो। तीमध्ये ३५ जनालाई न्यायिक सहजकर्ताका रूपमा खटाइएपछि २०७९ चैत १ गतेदेखि महानगर र वडा कार्यालयहरूबाट निःशुल्क कानुनी तथा प्रशासनिक सेवा सुरु गरिएको हो भने १५ जनालाई वैकल्पिक सूचीमा राखिएको थियो।
न्यायिक सहजकर्ताले सेवाग्राहीलाई निवेदन, उजुरी, प्रतिउत्तर, मिलापत्रलगायत कानुनी कागजात तयार गर्न सहयोग गर्नुका साथै आवश्यक कानुनी परामर्शसमेत उपलब्ध गराउँदै आएका छन्। महानगरका अनुसार यस कार्यक्रमले विशेष गरी आर्थिक तथा प्रक्रियागत कारणले कानुनी सेवाबाट वञ्चित हुने नागरिकलाई सहज पहुँच दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।















