वार्ता निष्कर्षविहीन, मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो
काठमाडौं।सरकार र मिटरब्याज पीडितबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि जनकपुरधामबाट काठमाडौंतर्फ जारी पैदल न्याय मार्च बाराको निजगढमै रोकिएको छ। गृहमन्त्री सुदन गुरुङसँग थप छलफलको प्रतीक्षामा आन्दोलनरत पक्ष तीन दिनदेखि निजगढमै बसेको हो।
धनुषाको तिरहुतिया गाछीबाट सुरु भएको मार्च पाँच दिनमा निजगढ पुगेपछि सरकारको आग्रहमा वार्तामा सहभागी भएका पीडितहरूले आफ्ना ६ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन्। उनीहरू सरकारसँग लिखित सहमति हुने आशामा काठमाडौंसम्मको यात्रा अस्थायी रूपमा स्थगित गरेर बसेका हुन्।
मिटरब्याजसम्बन्धी विगतका आयोगका प्रतिवेदन सार्वजनिक गर्ने, फर्जी तमसुक तथा अन्य विवादित लिखत खारेज गर्ने, प्रभावकारी कानुनी व्यवस्था र विशेष न्यायिक संयन्त्र गठनलगायतका मागमा दुवै पक्षबीच छलफल भए पनि ठोस सहमति हुन सकेको छैन।
पीडितहरूले आफ्ना माग सम्बोधन भए मार्च रोक्ने, अन्यथा पुनः काठमाडौंतर्फ पैदल यात्रा अघि बढाउने चेतावनी दिएका छन्। सरकारले भने मागका विषयमा थप गृहकार्य गरी पुनः वार्ता गर्ने जनाएको छ।












