भक्तपुरमा १०० करोड लगानीमा हेलिप्याडसहितको अत्याधुनिक नागरिक कम्युनिटी टिचिङ हस्पिटल निर्माण सुरु
काठमाडौं।भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै जग्गामा हेलिप्याडसहितको ११ तले अत्याधुनिक अस्पताल भवन निर्माण सुरु गरेको छ। हाल भाडाको भवनबाट सञ्चालन भइरहेको अस्पताल अब मध्यपुर थिमी–३ स्थित ७ रोपनी क्षेत्रफलमा निर्माणाधीन नयाँ भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा रहेको छ।
अस्पतालका अध्यक्ष आरएस भण्डारीका अनुसार १८ असारमा शिलान्यास गरिएको भवनको निर्माण ३१ असारदेखि सुरु भइसकेको छ। करिब एक लाख २२ हजार वर्गफिट क्षेत्रफलमा फैलिने भवन निर्माणका लागि झण्डै १०० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने पहिलो र दोस्रो चरण गरी कुल लगानी २५० करोड रुपैयाँ पुग्ने लक्ष्य राखिएको छ।



नयाँ भवनबाट सुरुमा १०० शय्याको सेवा सञ्चालन गरिने र आगामी तीन वर्षभित्र २०० शय्यामा विस्तार गरिने योजना छ। हाल २७० कर्मचारी कार्यरत रहेको अस्पतालमा नयाँ भवन सञ्चालनसँगै करिब ५०० जनाले रोजगारी पाउनेछन् भने पूर्ण विस्तारपछि करिब १२०० जनालाई रोजगारी सिर्जना हुने अस्पतालको दाबी छ।
अस्पतालमा अत्याधुनिक एनआईसीयू, ट्रमा सेवा, क्याथल्याबसहितको मुटु उपचार, डायलाइसिस, एमआरआई, सिटी स्क्यान, आईसीयू, सीसीयू, शल्यक्रिया कक्ष तथा हेलिकोप्टर उद्धार (हेली रेस्क्यु) लगायतका सुविधा उपलब्ध गराइनेछ। साथै कार्डियोलोजी, न्युरोलोजी, नेफ्रोलोजी, स्पाइन सर्जरी, ग्यास्ट्रो सर्जरी, प्लास्टिक सर्जरी, स्त्री तथा प्रसूति, बालरोग, हाडजोर्नी, दन्त, आँखा र अन्य विशिष्टीकृत सेवासमेत सञ्चालन गरिनेछ।


अध्यक्ष भण्डारीले काठमाडौं र ललितपुरबाहिर विशेष स्वास्थ्य सेवाको अभाव रहेको भन्दै भक्तपुर तथा पूर्वी काठमाडौं क्षेत्रको स्वास्थ्य सेवा आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले अस्पताल विस्तार गरिएको बताए। उनका अनुसार ह्याम्स अस्पतालको अनुभव र गुणस्तरलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलमार्फत पनि उपलब्ध गराइनेछ।
१८ वर्षअघि ‘मुनाल क्लिनिक’का रूपमा सुरु भएको यो संस्था पछि नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा रूपान्तरण भएको थियो। २०८१ सालमा ह्याम्स समूहको नेतृत्व अस्पतालमा भित्रिएपछि सेवा विस्तार, पूर्वाधार विकास र आधुनिक स्वास्थ्य सेवामा ठूलो लगानी भइरहेको छ।












