टोकियोमा जुलाई २५ मा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै,विश्वभरका नेपाली पत्रकार सहभागी हुने
काठमाडौं।नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ। ‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित हुन लागेको सम्मेलनमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य सहभागी हुनेछन्। साथै महासंघका ११ वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानस्थित पत्रकार तथा विभिन्न देशमा सक्रिय नेपाली सञ्चारकर्मीहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।


आयोजकका अनुसार सम्मेलनले प्रवासी नेपाली सञ्चारमाध्यमको भूमिका, विश्वभर फैलिएका नेपाली पत्रकारबीच अनुभव आदानप्रदान, व्यावसायिक सहकार्य तथा नेपालसँगको सञ्चार सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल गर्नेछ। सम्मेलनलाई नेपाल पत्रकार महासंघका ११ वैदेशिक शाखाले सहआयोजनाको रूपमा सहयोग गरेका छन्।













