काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने, ४० देशका पत्रकार सहभागी गराउने तयारी
काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ साल साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना गरिने भएको छ।
काठमाडौंको नयाँबजारमा बसेको तयारी बैठकमा फोनिजका महासचिव समीर बलामीले सम्मेलनको प्रारम्भिक कार्ययोजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सम्मेलनमा विश्वका करिब ४० देशमा मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूलाई सहभागी गराउने लक्ष्य राखिएको जानकारी दिइयो।



चारदिने सम्मेलनमा मातृभाषा पत्रकारितासम्बन्धी प्यानल छलफल, कार्यपत्र प्रस्तुति, सांस्कृतिक झाँकी प्रदर्शन तथा नेपालका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गराइने कार्यक्रम प्रस्ताव गरिएको छ। साथै विदेशी सहभागीलाई नेपालका रैथाने परिकारको स्वाद चखाउने र त्यसको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने योजना पनि आयोजकले अघि सारेका छन्।
आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य मातृभाषा पत्रकारितालाई थप व्यावसायिक बनाउनु, सरकारी नीतिमा यसको महत्त्व स्थापित गराउनु तथा सम्मेलनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको मातृभाषा पत्रकारिताको उपलब्धि प्रवर्द्धन गर्नु हो। सम्मेलनले भाषा, लिपि, संस्कृति, संस्कार तथा सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


यसअघि नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई पटक अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भइसकेका छन्। ती सम्मेलनहरूमा सार्क जर्नलिस्ट फोरम र फोनिजले सहकार्य गरेका थिए।
तयारी बैठकमा नेवाः पत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन, सुरेन्द्र भक्त श्रेष्ठ, केके मानन्धर, राजु नापित, प्रजित शाक्य र तेज नारायण महर्जन तथा फोनिजका लक्की चौधरी, समीर बलामी, अर्जुनबहादुर तामाङ, प्रविण श्रेष्ठ, प्रदीप लेखी, अमिर लामा, राजु राजदेव बज्राचार्य र प्रविन किराती लगायतको सहभागिता रहेको थियो।













