पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले पर्यटन क्षेत्रको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूको चिन्ता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई सरकारको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गर्दै कानुनको पूर्ण पालना गर्न, साना तथा मझौला होटललाई दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्य विस्तार गर्न सुझाव दिए। छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल पनि सहभागी थिए।

भेटका क्रममा होटल संघ नेपालका पदाधिकारीहरूले देशको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम भए पनि हाल करिब १२ लाख पर्यटक मात्रै नेपाल आउने गरेको जानकारी गराए। पर्यटक आगमन बढेमा रोजगारी सिर्जना हुने र युवाको वैदेशिक पलायनसमेत घटाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
व्यवसायीहरूले आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र क्रस–बोर्डर पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत, वातावरणीय मूल्याङ्कनको सीमा २५ बेडबाट ५० बेड पुर्याउने व्यवस्था, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन तथा नेपाल एयरलाइन्सको सेवा सुधार गर्न सरकारसँग माग गरेका छन्।

यस्तै, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा रहेको ट्रेडमार्क रोयल्टीसम्बन्धी व्यवस्था संशोधन, डेस्टिनेसन वेडिङका लागि गरगहना आयात प्रक्रिया सहज बनाउने तथा आरोग्य पर्यटनका लागि प्रभावकारी प्याकेज र दक्ष जनशक्ति व्यवस्थापन गर्न पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।












